मोरङ, 28 नवम्बर 2022
मोरङ जिल्लामा प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणामको नतिजा आइसकेको छ।
यससँगै मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला यतिबेला मतदातासामु पुगेर धन्यवाद दिन व्यस्त छन्।
नवनिर्वाचित कोइराला सोमबार सुन्दरहरैंचा नगरपालिको विभिन्न वडामा पुगेका छन्। सोही क्रममा बिहान कोइराला सुन्दरहरैंचा वडा नम्बर-२ स्थित बङ्गु खवासको घरमा पुगेका थिए।
व्हिल चेयरमा रहेका वृद्ध खवासले कोइरालालाई जनतालाई नबिर्सन र मतदाताको भावनालाई कदर गर्न सुझाव दिए।
कोइरालाले आफ्नो जितले सबै मतदातालाई निराश हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै भने, ‘मलाई यस क्षेत्रका सबै मतदाताले लगाएको गुनले धेरै महत्त्व राखेको छ। तपाईंहरूले राख्नुभएको विश्वास र अभिमतलाई निराश हुने दिन छैन।’
‘अहिले मुलुकमा सुशासनको जरुरत छ। महंगी, भ्रष्ट्राचार नियन्त्रण गर्नु अत्यन्त आवश्यक छ। जनतालाई आधारभूत विकासको खाँचो देखिएको छ र यस कार्यकालमा मेरो बलबुताले सकेसम्म जनतालाई निराश बनाउने छैन’,उनले थपे।









































