काठमाडौं, 1 दिसम्बर 2022
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । खासगरी कोभिड–१९ को संक्रमणपछि अर्थतन्त्रमा केही समस्या देखिएपनि संकटको अवस्थामा पुगिनसकेको उनले दाबी गरे । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।
‘आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चिति लगायत केही सूचकमा समस्या देखिएको छ । ती पनि पछिल्लो समयमा सुधारोन्मुख छन्,’ उनले भने, ‘यस्तो अवस्थामा अर्थतन्त्र संकटमा गयो भनेर प्रचारबाजी गरियो, जुन एकदमै गलत हो ।’ अर्थतन्त्रमा भएका समस्या समाधान गर्न पनि सरकार सक्षम रहेको उनको दाबी थियो । नेपाली अर्थतन्त्रको आफ्नै किसिमको विशेषता रहेकाले त्यसलाई सोही अनुसार नै समस्याको समाधान खोज्नुपर्ने उनले बताए ।
त्यस्तै, निजी क्षेत्रलाई साथमा लिएर यी चुनौतीको समाधान गर्नुपर्ने उनले बताए । “हामीले निजी क्षेत्रका कुरा सुनेका छौँ । तर, अर्थतन्त्र संकटमा छ भनेर अर्थशास्त्री र व्यवसायीले नभन्दिनुस्,” मन्त्री शर्माले भने।









































