काठमाडौं, 27 दिसम्बर 2022
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको पहिलो काम नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने हुने बताएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि दाहालले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । मन्त्रिपरिषद्को बैठकले चाँडै नै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको पनि दाहालले जानकारी दिए । प्रधानमन्त्री दाहालले गम्भीर रुपले देश र जनताका समस्याहरुको सम्बोधन गर्ने प्रतिबद्धता जनाए । ‘जनतामा आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ । हाम्रो देशको अघि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर यो मन्त्रिपरिषद् जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदान जस्तो प्रकृति देखियो, परिणाम जस्तो देखियो त्यसलाई समेटेको छ, यो मन्त्रिपरिषद्ले । एउटा आशा जगाएको छ । हामीले आजको बैठकमा नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ त्यसलाई सुधार्ने, प्रभावकारी उपायमा केन्द्रित भएर अघि बढ्ने कुरा । सुशासनतिर गम्भीर ढंगले अघि बढ्नेकुरा र जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउने बारे । जस्तो राहदानी, लाइसेन्ससम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ । प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेका छौँ । हामीले गम्भीर रुपले देश र जनताका अघि रहेका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ,’दाहालले भने ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आउनुभएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे । सोमबार अपरान्ह प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।









































