काठमाडौं, 27 दिसम्बर 2022
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सर्न लागेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् । बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उनको सचिवालयले जनाएको छ ।
देउवाका सचिवालय एक सदस्यका अनुसार उनले सरकारी निवास बुधबार विहान छाड्दैछन् । ‘बुढानीलकण्ठको घर निर्माण सकिन 3/4 महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, उनले भने । आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ ।
आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ । देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् । बूढानीलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइरहेकोले बालुवाटार छाड्न ढिलो भएको उनले बताए । उक्त घर मर्मत गर्न करिब 4 महिना लाग्ने भएपछि देउवाले धुम्वाराहीमा भाडाको घर खोजेका छन् ।









































