दिल्ली, 29 दिसम्बर 2022
कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको बेला भारतमा कडाइ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले विभिन्न ५ देशबाट आउन चाहने यात्रुलाई अनिवार्य आरटी–पीसीआर गर्ने नियम लागू गरेको छ । यस्ता देशमा चीन, जापान, साउथ कोरिया, सिंगापुर, थाइल्यान्ड रहेका छन् । केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मन्डावियाले १ जनवरीदेखि कडाइ गर्ने मापदण्ड लागू गरिएको जानकारी दिए । भारत आउनेले यात्रा गर्नुअघि पीसीआर रिपोर्ट प्रविष्ट गर्नुपर्नेछ ।
भारतमा अन्तर्राष्ट्रिय उडानबाट आउने २ प्रतिशत यात्रुमा नमूना परीक्षण हुँदै आएको छ । पछिल्ला केही दिनयता चीन, जापान लगायत देशमा कोरोना बढ्दै गएपछि भारतले कडाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नमूना परीक्षणमा १५० यात्रुमध्ये १ जनामा कोरोना पोजेटिभ पाइने गरेको जनाइएको छ ।
भारतमा जनवरीदेखि कोरोना बढ्नसक्ने अनुमान गरिएको छ । आगामी केही दिन भारतका लागि कठिन हुनसक्ने अनुमान भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।









































