दिल्ली, 31 दिसम्बर 2022
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेर साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भएका छन् । रोनाल्डोले शुक्रबार आधिकारिक रुपमा साउदीको नासरसँग जुन २०२५ सम्म खेल्ने सम्झौता गरेका हुन् ।
अल नासरमा आबद्ध भएपछि ३७ वर्षीय रोनाल्डोले आफु थप सफलता हाँसिल गर्न उत्साहित रहेको बताएका छन् । रोनाल्डोले भने, ‘म फरक लिग र फरक देशमा नयाँ अनुभवको लागि उत्साहित छु, अल नासरको दृष्टिकोण धेरै प्रेरणादायक छ’।
अल नासर क्लबका अध्यक्ष मुसल्ली अल्मुअम्मरले रोनाल्डोलाई क्लबमा आबद्ध गराउँदा ठूलो सफलता हाँसिल गरेको बताएका छन् ।
नासरले घरेलु लिग साउदी प्रो प्रिमियर लिगको उपाधि ९ पटक जितेको छ । क्लबले रोनाल्डो भित्राएसँगै अर्को घरेलु लिग उपाधि र पहिलो एएफसी एसियन च्याम्पियन्स लिग जित्ने विश्वास लिएको छ ।
रोनाल्डोले आफ्नो फुटबल करियरमा स्पोर्टिङ सीपी, रियल म्याड्रिड, जुभेन्टस र म्यानचेस्टर युनाइटेड क्लबका लागि खेलिसकेका छन् ।
रोनाल्डो अब पहिलो पटक युरोप बाहिरको क्लबमा खेल्दैछन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार नासर क्लबमा रोनाल्डोको तलब प्रति वर्ष २०० मिलियन डलरसम्म हुन सक्नेछ ।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डो सबै समयका महान् र सबैभन्दा सम्मानित खेलाडी मध्ये एक मानिन्छन् ।









































