काठमाडौं, 6 जनवरी 2023
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक रहेको धारणा बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले व्यक्तिगत रुपमा प्रचण्डप्रति सकरात्मक धारणा रहेको बताएका हुन्।तर विश्वासको मत दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने बताएका छन् ।
अध्यक्ष नेपालले भने, ‘प्रचण्डप्रति सकारात्मक धारणा छ, सरकार कुन ढंगले अघि बढ्छ, सोहीअनुसार निर्णय लिन्छौँ।’
‘पार्टीलाई सुदृढ बनाउने, बिस्तार गर्ने अबको अभियान हो, हाम्रो फोकस भनेको जनता र राष्ट्रका बिषयबस्तु उठानमा केन्द्रित हुनेछ,’ उनले भने।
उनले ‘क्रान्तिकारी र अरुभन्दा भिन्न पार्टी निर्माण गरेर अघि बढ्ने तयारी’ रहेको बताए। ‘पार्टी निर्माणकै क्रममा रहँदा एक पछि अर्को निर्वाचनमा होमिनुपर्यो, निर्वाचन सकिएपछि अब हामीसँग समय छ। देशव्यापी रुपमा रहेको पार्टीको शक्ति र संगठनलाई व्यवस्थित पार्ने छौँ। विचार, नीति र विधि मिल्नेहरुसँग एकता पनि गर्नेछौँ,’ उनले भने।
१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।









































