काठमाडौं, 11 जनवरी 2023
राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा कमल थापा पनि पुगेका थिए। राप्रपा त्यागेर आफ्नै अध्यक्षतामा राप्रपा नेपाल गठन गरेका थापाले त्यहाँ पुगेर राजेन्द्र लिङ्देनसँग अँगालोसमेत हाले। महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी त्यागेका थिए। उनै थापा आज आफ्नो पुरानो पार्टीको कार्यक्रममा पुगेका हुन्।
कार्यक्रममा थापाले राप्रपा आफ्नो पनि पार्टी भएको बताए। ‘राप्रपा मेरो पनि पार्टी हो। यसका लागि मैले पनि पसिना बगाएको छु। उहाँले जे सफलता हासिल गर्नु भएको छ शुभकामना,’ थापाले भने।
पार्टी एउटै बनाउने कुरामा भने पछि छलफल गर्ने थापाको भनाई थियो। ‘हामी एउटै पार्टी हुने कुरा पछि गरौंला,’ ।
सरकारले पृथ्वी जयन्तीको अवसरमा बिदा दिएकोमा धन्यवाद दिँदै उनले राज्यबाटै एकता दिवस मनाउनुपर्ने धारणा राखे।
‘बिदा दिएकोमा सरकारलाई धन्यवाद। राज्यबाटै एकता दिवस मनाउनु पर्छ,’ उनले भने। कार्यक्रममा सहभागी भएका थापाले आफूले सधैँ राप्रपाको प्रगतिको कामना गर्ने बताए ।
अहिले पार्टी फरक भए पनि राप्रपाको प्रगतिको कामना गर्छु,’
‘पार्टी फरक भए पनि राष्ट्रिय मुद्दामा एकै ठाउँमा छौँ ।’
राप्रपाबाट अलग हुँदै थापाले राप्रपा नेपाल गठन गरेका थिए । त्यसयता पहिलोपटक उनीहरू सँगै एउटै मञ्चमा देखिएका छन् ।









































