काठमाडौं, 13 जनवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । ललितपुरमा शुक्रबार आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योग नेपालको अर्गानिक क्षेत्र भएको बताए ।
‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ उनले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ ।’
प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु।’
‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु,’ प्रधानमन्त्री दाहालले भने, ‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’
त्यस्तै उनले आफूहरूलाई अहंकार गर्ने छुट नभएको उल्लेख गर्दै भने, ‘निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ। कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएका छैनन्। हामी इमान्दार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ ।’









































