काठमाडौं, 16 जनवरी 2023
प्रदेश प्रहरीको नेतृत्वमा गएका अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । उनले कुनै राजनीतिक हस्तक्षेपबिना प्रदेश प्रहरीको नेतृत्वमा कार्यकुशलताका आधारमा जिम्मेवारी हेरफेर गरिएको बताएका हुन् । गृहमन्त्री लामिछानेले पुस २८ मा सातवटै प्रदेश प्रहरीको जिम्मेवारीमा सरुवा भएका डीआईजीहरूलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताएका हुन् ।गृहमन्त्रीको सचिवालयका अनुसार ‘संगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको र यो विषयमा सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नहुने’ स्पष्ट पारेको जानकारी दिएको छ । विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितमा काम गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।
गृहमन्त्रीले प्रदेश प्रहरीको नेतृत्व सम्हाल्न लागेका डीआईजीहरूलाई दिएका निर्देशनबारे उनको सचिवालयले भनेको छ, ‘अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनुपर्दैन । तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नुभएको छ ।’
शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा काम गर्न नयाँ जिम्मेवारी पाएका अधिकारीहरूलाई गृहमन्त्रीले भनेका थिए ।









































