काठमाडौं, 18 जनवरी 2023
कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पुन: सुरु भएको छ । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र तिब्बत एभिएसन डेभलपमेन्ट एज्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानीमा ८ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८ देखि हरेक शनिबार नियमित उडान गर्ने भएको छ ।काठमाडौंबाट चीनको राजधानीका लागि सिधा उडान गर्ने हिमालय एक मात्र वायुसेवा हो । साढे ४ घण्टाहाराहारीको यो रुटमा पर्यटक, व्यापारी र विद्यार्थीहरूको आवागमन हुने गरेको छ ।
‘मंगलबार रिअपरेसन उडान भयो, नियमित उडान फेब्रुअरीदेखि हरेक शनिबार काठमाडौं–बेइजिङ–काठमाडौं उडान हुने छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यो रुटमा १ सय ४४ यात्रु क्षमताको एयरबस ३१९ जहाज उडाउछौं ।’ यो विमान नेपालको उत्तरी भेगबाट तिब्बत हुँदै डिजाइन गरिएको नेपाल र चीन जोड्ने ट्रान्स हिमालय रुट हुँदै उड्छ । ल्हासा हुँदै बेइजिङ पुग्ने यो रुट बंगलादेश हुँदै जाने घुमाउरो रुटको दाँजोमा करिब २ घण्टा छोटो पर्छ ।









































