काठमाडौं, 19 जनवरी 2023
नमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभा बैठकमा आफ्नो सम्बोधनका क्रममा राउतले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली दिन मौनधारण गरेका हुन् । उनले गराएको मौन धारणमा केही प्रतिनिधिसभा सदस्य उठेका थिए भने केही बसिरहे । राउतले रोष्ट्रममा मौनधारण गरेपछि अरु सांसदहरूले पनि उभिएर मौनधारण गरेका थिए । मौनधारणमा साथ दिने सांसदहरूलाई उनले धन्यवाद दिए । त्यसअघि राउतले थारु र मधेसी जनताको पक्षमा सरकार र सदनले काम गर्न नसकेको बताएका थिए । उनले कुनै निश्चित जात र वर्गको मुखौटोका रुपमा मात्रै राष्ट्रिय सहमतिको कुरा गर्न नसुहाउने बताए । यद्पि आफूहरू सत्ता गठबन्धनमा रहेकोले सभामुख पदमा सत्ता पक्षका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने बताए ।









































