काठमाडौं, 21 जनवरी 2023
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन्। शनिबार कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले आर्थिक चुनौती खडा भएकाले आर्थिक सामर्थ्यलाई राम्रो बनाउन सरकारलाई सबैको साथ चाहिएको बताएका हुन्। उनले अर्थमन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती,सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए।
‘अहिले अर्थमन्त्रीको हैसियतमा मितव्ययिता, खर्च कटौती, सुविधा कटौतीका निम्ति सिंगो राष्ट्रलाई आग्रह गर्नुपर्ने ठाउँमा छु’, पौडेलले भने, ‘हामी सबैलाई थाहा छ मुलुकको आर्थिक सामथ्र्य कहाँ आइपुगेको छ। मुलुकको आम्दानी र खर्च कस्तो रहेको छ। खर्च गर्ने मुलुकको सामर्थ्य कहाँ छ।’
अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समिक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे। उनले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताए। उनले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताए।
उनले भने, ‘आजका मितिसम्म आइपुग्दा पनि राजश्व परिचालनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्रै होइन। गत वर्ष यही समयमा जति राजश्व परिचालन गरेका थियौं। त्यो भन्दा पनि पछाडि छौं। राजश्व परिचालनको अवस्था यस्तो छ। मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेका छन्।’
उनले बजेटको मध्यावधिक समीक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौती देखिएको बताए ।









































