काठमाडौं, 23 जनवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले सरकार खर्च कटौतीमा केन्द्रीत भएको बताएका छन् । सोमबार बिहान बालुवाटारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रचण्डले प्रदेश मन्त्रालयको संख्या घटाउँदै खर्च कटौतीतर्फ सरकार केन्द्रीत भएको बताए । प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार समेत कटौती गर्न प्रस्ताव गरिसकेको समेत उनले बताए ।
‘प्रदेशहरू आफैँमा स्वायत्त तह हुन् । उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ । त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि । तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ । तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरुरी छ,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूको बैठकमा पनि प्रदेशलाई चुस्त बनाउने र वित्तिय सुशासन कायम गर्नेबारे प्रस्ताव गरेको बताएका थिए।
यसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सत्ता साझेदार दलका शीर्ष नेता सहमत रहेको प्रचण्डले बताए । प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरिएको प्रचण्डले बताए।









































