काठमाडौं, 24 जनवरी 2023
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्को बहसले नयाँ पार्टी उत्साहित नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले भने, “नयाँ राजनीतिक दल, नयाँ आशा र उमंग बोकेर आएका हामीजस्ता राजनीतिक दलका लागि संसद्को उपस्थिति उत्साहजनक देखिएको छैन । बहस विषयकेन्द्रित हुन जरुरी छ । गरिमामय संसद्मा उपस्थित हुने जाँगर कम हुन्छ ।”
उनले हिजोका ‘गन्थन’मा आफूहरूलाई चासो नभएको बताए । संसद् जनताको चासोको हुनुपर्ने र गृहकार्य गरेर बहस गर्नुपर्नेमा उनले जोड दिए ।
“राज्यका अंगलाई थिलथिलो बनाइएको छ । कमजोर बनाउने जसबाट काम भए, त्यही कोणबाट प्रश्न आउने रहेछन्,” उनले भने, “म त्यसको प्रतिउत्तर होइन, कामका माध्यमबाट त्यसको जवाफ आफैँ उपस्थित होस् भन्ने भन्ने चाहन्छु ।”
उनले गृह मन्त्रालयको प्रणाली सुधारतर्फ लागिएको पनि बताए ।









































