काठमाडौं, 27 जनवरी 2023
पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर लगिने भएको छ । चालकदलसहित ७२ जनाको ज्यान लिएको उक्त विमानको दुर्घटनाको कारण पत्ता लगाउन सिंगापुर लैजान लागिएको हो । दुर्घटनास्थलबाट प्राप्त फ्लाइड डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर दुवैको परीक्षण सिंगापुरको ट्रान्स्पोर्टेसन सेफ्टी इन्भेस्टिगेसन ब्युरोका विज्ञहरुले गर्नेछन्। सुरुमा ब्ल्याक बक्स फ्रान्स लगिने बताइएको थियो। किनभने सो एटीआर ७२ विमान फ्रान्समै बनेको हो। तर, प्राधिकरणले अहिले सिंगापुर पठाउने तयारी गरेको हो। हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा सिङ्गापुर, बेलायत र फ्रान्ससँग नेपालको सम्झौता रहेकाले परीक्षण निःशुल्क हुने जनाइएको छ । सो दुर्घटनाको छानबिन गर्न गठित टोलीले पनि काम गरिरहेको छ। काठमाडौंबाट पोखराको लागि ६८ यात्रु बोकेर उडेको जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।









































