काठमाडौं, 31 जनवरी 2023
नेकपा (एकीकृत समाजवादी) दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आर्थिक संकट अन्त्यको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएर सो दलले आज विहान ९:३० बजे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा वरिष्ठ नेता झलनाथ खनाल, नेता पौडेल, गंगालाल तुलाधार लगायतका नेता बालुवाटार पुगेका हुन ।
समाजवादीका नेता डा. विजय पौडेलले निजी र सहकारी क्षेत्रलाई विशेष सहुलियत दिएर विद्युत उत्पादनको माग सरकारसँग गरिएको बताए । भ्रष्टाचार मुक्त गर्ने अभियान सञ्चालन गर्न, बैंकको समस्या समधान गर्न, कर्जा दिंदा १२ प्रतिशत बढी नहुनेगरी व्यवस्था गर्न सो दलले माग गरेको छ ।
व्याज लिएका कृषकका लागि आगामी २०८० असार मसान्तसम्म भाकाको व्यवस्था गर्न माग गर्दै सो दलले असंगठित क्षेत्रका श्रमिकलाई तोकिएको ज्यालाको व्यवस्था गर्न पनि माग गरेको छ । ज्ञापनपत्रमा उठाएको विषयलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानमा ध्यान दिन आफ्नो दलले सरकारको ध्यानाकर्षण गराएको नेता पौडेलले बताए ।
जनतामा आर्थिक विषयलाई लिएर एक किसिमको निराशा आएकाले त्यसलाई विलम्ब नगरी चिर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिएको उनले बताए । सरकारको तर्फबाट आफू गम्भीर रहेको र समस्या समाधानका लागि लाग्ने प्रतिवद्धता प्रधानमन्त्रीले जनाएको नेता पौडेलले बताए ।












































