काठमाडौं, 3 फरवरी 2023
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन्। उनले हाम्रो शिक्षा ‘प्रमाणपत्र’का लागि मात्र भएकाले अबको शिक्षा पद्धतिमा आमूल परिवर्तन र व्यवहारिक बनाउन जरुरी रहेको भन्दै सो कुरा बताएका हुन्। शुक्रबार झापाको दमक बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ७० प्रतिशत प्राविधिक शिक्षा र बाँकी ३० प्रतिशत अन्य शिक्षा बनाउनुपर्ने कुरा आफूले बारम्बार बताउँदै आएको उल्लेख गरे। उनले जीवन उपयोगी शिक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।
उनले भने, ‘‘दैनिक जीवनसँग, पेशासँग, कामसँग र उत्पादनसँग नजोडिएको ज्ञानमात्र हुन्छ। त्यसैले त्यसको अर्थ छैन’’। सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानको आवश्यकता रहेको उनले बताए।
अहिलेको पढाइ व्यवहारिक नभएको भन्दै पढ्न र लेख्न जान्नेमात्र भएर रोजगार सिर्जना नहुने उनले बताए। प्राविधिक शिक्षा तथा सीटीईभीटीले दमक नगरपालिका वडा नम्बर ४ मा सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको हो। सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले स्थानीय आवश्यकताका आधारमा प्राविधिक विषय यहाँ पढाइ हुने बताए। प्राविधिक शिक्षा विस्तारमा आफूहरु लागेको उनको भनाइ छ।









































