काठमाडौं, 11 फरवरी 2023
नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले जुन जगमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति हुने बताएका छन्। एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसदसमेत रहेका भट्टराईले पुस १० को सहमति राष्ट्रपतिमा पदमा मात्र खण्डित हुन नसक्ने बताए ।
‘अन्यत्र सबैतिर पुस १० गतेकै सहमति अनुसार हुने तर राष्ट्रपति हुन नहुने किन?,’ उनले भने, ‘कि त मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण हुनुपर्यो। यदि यो राजनीतिक समीकरण आजको आवश्यकता हो र यो कायम छ भने राष्ट्रपति पदमा मात्रै त्यो खण्डित हुनुपर्ने औचित्य छैन।’
भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गरे । अन्य पदहरुको निर्क्र्योल भइसकेको भए पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बाँकी छ। ती पदमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई नसघाएर कांग्रेस उम्मेदवारलाई सघाउने आशंका व्यक्त गर्न थालिएको छ।









































