काठमाडौं, 13 फरवरी 2023
जनयुद्ध दिवस भन्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वक्तव्य नै जारी गरेका छन् । उनले लहडमा दिने सार्वजनिक बिदा कार्यकारीको स्वेच्छाचारिता भएको भन्दै त्यसलाई रोक्न कानुन निर्माण गर्नुपर्ने बताएका छन् । “आज फेरि बिदा !,” आस्चार्य प्रकट गर्दै थापाले भनेका छन्, “पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ ।” उनले सत्ताको जोडघटाउदेखि भावावेस र कसैको चित्त बुझाउनका लागि पनि सार्वजनिक बिदा दिइने गरेको भन्दै त्यसलाई रोक्न कानुनी प्रवन्ध नै आवश्यक भएको बताएका छन् । “कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्,” थापाले लेखेका छन्, “यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !”
उनले कार्यकारीको स्वेच्छाचारिता रोक्न कानुन बनाएर व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
“कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ ?,” प्रश्न गर्दै थापाले भनेका छन्, “कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो । यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ ।”
उनले कानुन निर्माणको अग्रसरता अब कांगेसले लिने उल्लेख गरेका छन् ।









































