काठमाडौं, 15 फरवरी 2023
राष्ट्रपति विद्यादेवी भण्डारीले समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुर्नजागरण आवश्यक भएको बताएकी छिन्। नेपाल सांस्कृतिक,नैतिक र सभ्यता पुर्ननिर्माणको संघारमा उभिएको भन्दै राष्ट्रपति भण्डारीले यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रुपमा लिनु पर्ने बताइन्।
‘हामीहरुले अब स्वाभिमान र सम्मान खोज्नु पर्छ, यसका लागि सांस्कृतिक, नैतिक र सभ्यताको संस्कारलाई विकास गर्न जरुरी छ’, दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद तर्फको बिएएमएस कक्षा सञ्चालनका लागि निर्माण गरेको भवन उद्घाटन गर्दै उनले भनिन्, ‘मैले यसलाई नेपाली सभ्यताको पुर्नजागरणको नाम दिएकी छु।’
अन्तर्राष्ट्रिय स्तरमा यो अभियानलाई प्राज्ञिक तथा विश्व विद्यालयहरुले जिम्मेवारी लिएर उचाईमा पुर्याएको इतिहास रहेको भन्दै राष्ट्रपति भण्डारीले नेपाली सभ्यताको पुर्नजागरणको अभियानको नेतृत्व नेपाल संस्कृत विश्व विद्यालयले लिनुपर्ने सुझाव दिइन्।
संस्कृत भाषाको संरक्षणका लागि अहम् भूमिका खेल्दै आएको नेपाल संस्कृत विश्व विद्यालयले यो प्रयासलाई थप उचाईमा पुर्याउन विश्व विद्यालयले थप सृकयता देखाउनु पर्ने सुझाव दिइन्। विश्वमा प्राकृतिक चिकित्साले अधिक महत्व पाउँदै आएको भन्दै राष्ट्रपति भण्डारीले नेपालमा पनि यसको प्रभावकारीतामा जोड दिँदै यो पद्धतिको विश्वसनीयता कायम गर्नुपर्ने समेत बताइन्।









































