काठमाडौं, 20 फरवरी 2023
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच वर्ष टिक्नुपर्ने विषयमा सबै दलसँग खुला छलफल भएको बताएका छन् । उनले वर्तमान सरकारसँग पूर्ण बहुमत नभए पनि मध्यावधि निर्वाचन नहुने तथा सरकार पाँच वर्ष चल्ने दाबी गरे । प्रदेश सभा बैठकबाट विश्वासको मत कहिले लिने तयारी छ भन्ने प्रश्नमा उनले छिट्टै विश्वासको मत लिने र यो सरकार पाँचै वर्ष चल्ने बताए।
‘एक्लै कुनै दलसँग पनि बहुमत छैन। यो सरकार ५ वर्ष टिक्नुपर्छ भनेर हामीले दलहरूसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने, ‘सुदूरपश्चिममा मध्यावधि चुनाव हुँदैन, यही सरकार पाँच वर्ष चल्छ।’
उनले मन्त्रिपरिषदमा अहिले ३ जना रहेको र बाँकी मन्त्री छिट्टै नियुक्त गर्नेबारे छलफल भइरहेको पनि बताए। ‘प्रदेश सरकारलाई छिट्टै पूर्णता दिने हो,’ उनले भने।
यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उक्त सरकार ढलेर नेपाली कांग्रेसका संसदीय दल नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो।
उनी मुख्यमन्त्री बनेको ११ दिन भइसकेको छ। ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
७ सांसद भएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिनेबारे प्रष्टाइसकेको छैन।









































