काठमाडौं, 20 फरवरी 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दुषित हावा देखा पर्न थालेको उल्लेख गर्दै प्रधानमन्त्रीले १२ बुँदे समझदारी पक्षधर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए।
कास्कीको पोखरामा पार्टीको गण्डकी प्रदेश समितिले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन-जुन शक्तिहरू एक ठाउँमा उभिएका थिए ती शक्तिहरू पुन: एक ठाउँमा उभिनुपर्ने बेला आएको बताए।
उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आगामी २ महिना जनताका घरदैलोमा गएर सुझाव लिन पनि निर्देशन दिएका थिए। जनताका सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तरण गरिने उनले बताए। उनले समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल चलिरहेको बताए।
उनले सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका थिए।
सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको उनको दाबी थियो।









































