काठमाडौं, 2 मार्च 2023
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्द्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए । बिहीवार काठमाडौंमा आयोजित ८ दलीय सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको बताए । “संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्छ,” उनले भने ।
अध्यक्ष नेपालले राष्ट्रका सामु अनेकन चुनौतीहरु आइरहेको उल्लेख गर्दै यसलाई ध्यानमा राखेर राष्ट्रिय शक्तिहरुलाई एकताबद्ध बनाएर जान आवश्यक भएको बताए।
अध्यक्ष नेपालले अहिलेसम्म प्राप्त भएका अनुभवहरुलाई ध्यानमा राखेर निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर आफ्ना काम गर्ने विश्वास व्यक्त गरे ।









































