काठमाडौं, 3 मार्च 2023
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन् । राष्ट्रपति निर्वाचनबारे वागमतीका गठबन्धनका सांसदलाई ८ दलको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीकासाथ अघि बढ्छ। हाम्रो पार्टीलाई या व्यक्तिालाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैन ।’
महामन्त्री थापाले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप पनि लगाए । ‘यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन । कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन,’ उनले भने । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि जनताले देख्नेगरी काम थालेर पाँच वर्ष पुर्याउनुपर्ने उनको भनाइ छ ।
‘राष्ट्रपतिको फुर्सद हुन्छ । अनि चकतक गर्नुहुन्छ । नेताहरुसँग भेट्नुहुन्छ । अहिले राष्ट्रपति घरबाट निस्किँदा नागरिकको भागाभाग हुनुहुन्छ । हामीले राजाको भद्दा नक्कल गर्ने काम भएको छ,’ उनले भने । अब आउने राष्ट्रपतिले शीतल निवासलाई भरोसायोग्य पाउनुपर्ने उनको भनाइ छ । ‘नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल त्यसका लागि योग्य हुनुहुन्छ । लोकतन्त्रप्रतिको मेरो विश्वास टुट्दैन भनेर १४ वर्ष जेल बस्नुभयो । संसद विघटन हुँदा रामचन्द्र पौडेल विपक्षमा उभिनुभयो,’ महामन्त्री थापाले भने, ‘उहाँ चुनाव हारेपनि आफ्नो फाइदा हेर्नु भएन । यसलाई हेर्नुपर्छ । राष्ट्रपतिमा उहाँ खरो उत्रिन्छ ।’
उनले आठ दलीय गठबन्धनमा रहेका दलहरुसँग एमालेले भोट मागेको कुरालाई केटाकेटी खेल भएको बताए ।एकीकृत समाजवादी, लोसपा ८ दलीय गठबन्धनमा रहेको भन्दै एमालेले आफूलाई भोट दिने भन्दै हिँडेको बताए । उनले ८ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरे।









































