काठमाडौं, 8 अप्रैल 2023
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्तिको रुपमा रहेको दावी गरेका छन् ।शनिबार काठमाडौंमा सुरु भएको अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताए ।
उनले एमालेलाई समाप्त पार्न दुँनियाका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिला संघलाई धन्यवाद पनि दिए । ओलीले भने, ‘नेकपा एमाले फेरि पनि जुरुक्क उठेको छ । अरुभन्दा अलि बलियो, अरुभन्दा अघि ब्यापक, अरुभन्दा अघि अग्लो त्यसरुपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरुको निष्ठाले काम गरेको छ ।’
पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाई थियो ।
ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।









































