काठमाडौं, 11 अप्रैल 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले बैंक ब्याजदर कम गर्ने र राजश्व सङ्कलनलाई बढाउने बारेमा सरकारका सबै अङ्गसँग आफू छलफलमा रहेको बताए । उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने बताए ।
उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद भएको बताए । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको सहकार्यले संकटमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन सकिने दाबी समेत गरे।









































