काठमाडौं, 11 अप्रैल 2023
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्न नपाइने बताएका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताएका हुन्।
मन्त्री महतले भने ‘म यो मञ्चबाट भन्न चाहन्छु कि कर्जा नै तिर्दैनौं भन्ने विषय हुन सक्दैन । अहिले अप्ठेरो पर्यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला । तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ ।’
ब्याजदरका विषय वा मौद्रिक नीतिमा टाइट गरिएका अन्य विषयलाई खुकुलो बनाउने सन्दर्भमा सरकारले राष्ट्र बैंकसँग परामर्श गरिरहेको उनले बताए । चाँडै नै लगानीका समस्या हल गरेर अर्थतन्त्र चलायमान गराउने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ छ । ‘ऋण लिएकाले सहज रुपमा फिर्ता गर्न सक्ने वातावरण बनाउनु हाम्रो कोसिस हुन्छ’ महतले भने ‘घरजग्गामा देखिएको मन्दी, निर्माण क्षेत्रमा देखिएको मन्दी कम गरेर समग्र अर्थतन्त्र चलायमान अर्थतन्त्र बनाउनका लागि केन्द्रित हुनेछौं ।’









































