काठमाडौं, 12 अप्रैल 2023
नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसदमा उठेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिपक खड्काले किमाथांका नाका खुलाउनका लागि अग्रसरता देखाउन सरकारलाई आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नाका खुलाउन अनुरोध गरे ।
“किमाथाङ्का नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु”, सांसद खड्काले भने ।
साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उनले संसदमा उठाए ।
“वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नहुँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु ”, सांसद खड्काले भने ।









































