काठमाडौं, 12 अप्रैल 2023
नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रण विधेयक पारित गर्न आवश्यक रहेको बताएका छन् ।बुधबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले नेपालमा सुरक्षण मुद्रण नहुँदा नक्कली मुद्रणको प्रयोग गरेर भइरहेको छपाइले राजस्व अपचलनमा गम्भीर समस्या सिर्जना भएको बताए । नेपालको सुरक्षण मुद्रण सुरु भएमा अर्बौं रुपैयाँ बचत हुने उनको भनाइ छ । यसले मुलुकको अर्थतन्त्रलाई पनि सकारात्मक दिशामा लैजाने उनको बुझाइ छ ।
र, विधेयक पारित गर्दैगर्दा सुरक्षण मुद्रणका लागि यथेष्ट बजेटको व्यवस्था गर्न जरुरी रहेको उनले बताए । बजेटको व्यवस्था गर्न नसके विधेयक अगाडि बढाउनुको अर्थ नहुने उनको भनाइ छ ।नेता कार्कीले नेपालको पासपोर्ट र मुद्रा समेत छपाई हुने गरी सरकारले सुरक्षण मुद्रणको व्यवस्था गर्नुपर्ने पनि स्मरण गराए ।









































