काठमाडौं, 15 अप्रैल 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए।उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए।
प्रधामन्त्री दाहालले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो।’
उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए। उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए।
पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनाउँदै उनले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताए। निजी क्षेत्रका समस्या समाधानको पहल भएको जनाउँदै उनले देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम रहेको बताए।
आफू छिट्टै छिमेकी देशको भ्रमणमा निस्कन लागेको जनाउँदै उनले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पूरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे।









































