काठमाडौं, 26 अप्रैल 2023
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्। नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए । उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे ।
‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ ।’
नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए । उनले हारको दोष एक जनामाथि थोपरेर अरू उम्किने अवस्था नरहेको उल्लेख गरे । त्यस्तै फरक प्रसंगमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताए । कोइरालाले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।









































