काठमाडौं, 1 मई 2023
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन्। सोमवार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताए। उहाँले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।
‘आजको हाम्रो श्रम क्षेत्र के मर्यादित छ ? के सुरक्षित छ ? के आजको जीवन धान्न सक्ने अवस्था छ ? यसतर्फ पनि यस्तो वेला समीक्षा हुनुपर्छ। मलाई लाग्छ, अहिले पनि श्रमिकको जीवन पूर्ण रूपले मर्यादित हुन सकेको छैन। सुरक्षित त छैन नै। राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पुर्याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ,’ उनले भने।
उनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उनले देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताउनु भयो ।









































