काठमाडौं, 9 मई 2023
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति आएको दाबी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तका विषयमा बोल्दै लिङ्देनले बजेटमार्फत् स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न माग गरे ।
उनले दुधकोशी, तमोर र बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू नै स्वदेशी लगानीमा बनाउने प्रबन्ध गर्न माग गरेका छन् । ‘अहिले निजी क्षेत्र निराश छ । लगानीको वातावरण छैन । लगानी गर्ने पुँजीको अभाव छ । उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेका छन् । यो विषयमा सरकार गम्भीर हुनुपर्यो । लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्यो । उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु,’ उनले भने, ‘सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ । हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा छौं । कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन ।’
उनले यदि साँच्चिकै सुशासन र पारदर्शी खर्च प्रणाली चाहेको भए सार्वजनिक खरिद ऐन संशोधन गरेर अघि बढ्न आग्रह गरे ।









































