जेठ ६, धनगढी ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद विस्तारमा मुख्यमन्त्रीले नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह लाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सहित मन्त्री बनाएका हुन । शनिबार नै बसेको कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
त्यस्तै माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यन्त्री बनेकी छन् । साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको शनिबार अपरान्ह शपथ हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।









































