भरतपुर, 26 मई 2023
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिँचाइको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव नरहेको बताएकी छन् ।खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाइको व्यवस्था हुनुपर्ने उल्लेख गरिन् । भरतपुरमा सिँचाइको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालीन र वैकल्पिक व्यवस्थाका लागि कामहरू अगाडि बढाइएको बताइन् ।प्रमुख दाहालले अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले पर्याप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने उनको भनाई थियो ।कृषिमा जति नै आधुनिकीकरण, यान्त्रीकरण गरे पनि सिँचाई अनिवार्य हुनुपर्ने औँल्याइन् ।
नारायणी लिफ्ट सिँचाइको जीर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात् १२ महिना सिँचाइको व्यवस्था हुने उनले बताइन् । पश्चिम चितवनको सुख्खाग्रस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युवेल जडान भई २१ सय हेक्टरमा सिँचाइको सुविधा रहेको र अहिले एक खेती पनि नहुने ठाउँमा ३ पटकसम्म खेती लगाउन सकिने अवस्था बनेको बताइन् ।









































