सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न सकेको छैन्: ओली
काठमाडौं, 3 जुन 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि कसैले पनि समृद्ध नेपाल र सुखी नेपाली भन्ने आँट गर्न नसकेको बताएका छन् ।
आज शनिवार ललितपुरमा एमाले विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा उनले एमाले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीलाई एमालेपछिको कुनै सरकार र एमाले विरोधीले अङ्गीकार गर्न नसकेको बताए ।
उनले केहि मान्छे धेरै धनी हुने र केहि मान्छे गरिबको गरिब रहने अवस्थालाई समृद्ध नेपाल भन्न नसकिने बताए । उनले कृषिलाई प्रविधियुक्त विकास गर्नुपर्ने भएपनि यसले मानवजीवनमा पार्ने असरलाई ध्यान दिनुपर्ने समेत बताए ।
ओलीले समान रूपमा जनताहरूको आय स्तर बढेपछि मात्रै समृद्ध नेपाल हुन सक्ने जिकिर गरे । मानवविकास र समाज विकासलाई प्राथमिकतामा राखेर देशको छिटो जिम्मेवार बिकास हुनुपर्ने उनको भनाई छ ।