ओलीले भने– पार्लियामेन्टमा थाहा हुन्छ
काठमाडौं, 10 जुलाई 2023
संघीय संसदको दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोध खुलाउन बसेको प्रमुख ३ दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
सोमबार संसद्मा अवरोध खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति र सचिवालयको वक्तव्यका विषयमा सम्बोधन गरेपछि एमालेले बैठक चल्न दिने सहमति छ।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।
प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस वक्तव्यमा एमालेमाथि लगाइएको आरोप फिर्ता लिनुपर्ने एमालेको अडान थियो।
प्रधानमन्त्री दाहालले भारतीय व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले त्यसैलाई कारण बनाएर प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरिरहेको छ।