भारतको चन्डीगढमा नेपालीको दुखद निधन
दिल्ली, 11 जुलाई 2023
भारतको चन्डीगढमा रोजगारिको सिलसिलामा बस्दै आएका एक नेपालीको दुखद निधन भएको छ । आफन्तका अनुसार अचानक बिरामी परेका रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारका पिमलाल वलीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।
दैनिकजसो सोमबार बिहानको खाना खाएर आफ्नो काममा फर्कनुअघि आराम गरेका वली एक्कासी बेहोस भएका थिए । बिरामी भएपछि चन्डीगढस्थित १६ सेक्टरको एक अस्पतालमा सुरुमा उपचार गर्न पुर्याइएका उनलाई पछि थप उपचारका लागि चन्डीगढकै ठूलो मानिने पीजीआई अस्पतालमा पुर्याइएको थियो ।
त्यहीँ उनलाई सोमबार राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । करिब ४५ वर्षका उनी भारतमा परिवारसहित लामो समयदेखि नै रोजगारी गर्दै आएका थिए । त्यसअघि उनी गुजरातको सुरत जिल्लास्थित हीरा कारखानामा काम गर्थे ।









































