प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं, 12 जुलाई 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिइन् ।
आज बिहान ८:३३ बजे प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले सीता दाहालको निधन भएको जानकारी दिए ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।
नर्भिक अस्पताल स्रोतका अनुसार हृदयघातबाट सीता दाहालको निधन भएको हो । उनका दुई छोरी छन् । छोरा प्रकाश दाहाल र छोरी ज्ञानु केसीको निधन भइसकेको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो ।
पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।
सीता दाहाल ६९ वर्षको थिइन् । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।
त्यसअघि श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादीको सल्लाहकार थिइन् सीता
वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।
यो समाचार पनि पढनुहोस्…