हामी सरकारमा जाने रेस र गेममा छैनौँ: लामिछाने
काठमाडौं, 13 जुलाई 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने तत्काल सम्भावना नरहेको बताएका छन् ।बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लामिछानेले अहिले पार्टी विस्तार लगायत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको र पार्टी भित्र पनि कुनै छलफल नभएको बताएका हुन्।
लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायीत्वको पक्षमा रास्वपा रहेको जिकिर गरे । उनले पार्टीले आफ्ना निर्णयहरू स्वतन्त्र रूपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको बताए ।
‘उपनिर्वाचनपछि आउनुहोस् भन्नुभएको थियो, अहिले कुराकानी भएको छैन । यो रेस र गेममा पनि छैनौँ,’ उनले भने, ‘तर, हामी स्थायित्वको पक्षमा छौँ ।’
अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ । लामिछानेले मिटरब्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अब सत्तामा रहेका दलहरू नै विपक्षमा उभिन सक्ने उल्लेख गरे ।
‘मिटरब्याजसम्बन्धी अध्यादेशमा सत्तामा भएका दल पनि विपक्षीमा उभिन सक्छन् । विधेयक अन्तिम समयमा ल्याउनुमा आशंका छ,’ उनले भने ।