उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न परराष्ट्रमन्त्रीको भारतीय पक्षसँग आग्रह
काठमाडौं, 5 अगस्ट 2023
भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ ।
शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन मार्फत रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरे ।
रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी १९ जना बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार बेपत्तामध्ये अधिकांश नेपाली रहेका छन् ।
शनिबार बिहानैबाट मुख्यमन्त्री धामीले बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको परराष्ट्रमन्त्री साउदसँग बताएका छन् ।
खराब मौसमका कारण मुख्यमन्त्री धामीले आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको पनि बताएका परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ ।
यसअघि, शुक्रबार परराष्ट्रमन्त्री साउदले दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर पहिरोमा परी बेपत्ता नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।
यो समाचार पनि पढनुहोस्…
- ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
- लामिछानेले भोटका लागि सस्तो राजनीति गरे : पोखरेल