मन्त्री अनिता देवीले लिइन् शपथ
काठमाडौं, 14 अगस्ट 2023
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।उनलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
साह जनमत पार्टीबाट मन्त्री बनेकी हुन् ।उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।
यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।