कोशी सरकार गठन प्रक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने
काठमाडौँ, 13 अक्टोबर 2023
राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको सन्दर्भमा तत्काल तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाले आफूहरुको सहभागिता बिनै दुवै पक्षले मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गर्दै तत्काल कसैको पक्ष नलिने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।
बैठक पछि कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्बजनिक गर्दै प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाँही भने कोशी सरकारका बारेमा तटस्थ बस्ने निर्णय भएको छ,’ बैठक पछि उनले भने ।
कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली कांग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोले दावी प्रस्तुत गरेका छन ।
माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।