विद्रोही हमास समूहले आक्रमण गरेपछि, इजरायलबाट थप १९ नेपालीको उद्धार
काठमाडौँ, 17 अक्टोबर 2023
इजरायलबाट नेपाली स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। विद्रोही हमास समूहले आक्रमण गरेपछि सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।
मन्त्रालयले स्थानीय समयानुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।
भारतको नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ ।









































