काठमाडौं, 25 अक्टोबर 2023
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरु कम्वोडियाको टेलिकममा एमाले अध्यक्ष केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताएका छन् । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु भएको बताए । उनले यस्ता भ्रममा नपर्न समेत आग्रह गरे । सामाजिक संजालमा बुधबार महासचिव पोखरेलले सुशासन र विकासका सबैभन्दा योग्य व्यक्ति ओली रहेको पनि बताएका छन् । विगतमा माओवादीहरूले ओलीबारे भ्रम छर्ने गरेको पनि पोखरेलले स्मरण गरेका छन् ।
‘पहिले माओवादीहरू जावलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे,’ पोखरेलले भनेका छन्, ‘अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ ।’
अध्यक्ष ओली सुशासन र विकासका लागि योग्य व्यक्ति रहेको भन्दै पोखरेलले वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूले भ्रम सिर्जना गरिरहेको लेखेका छन् । ‘वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो,’, ‘भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं ।’ उनले लेखेका छन्।