अभिनेत्री आलिया भाटले पाइन राष्ट्रिय चलचित्र पुरस्कार
काठमाडौं, 31 अक्टोबर 2023
भारतकी बलिउड अभिनेत्री आलिया भाटले सर्वोत्कृष्ट अभिनेत्री विधातर्फ भारतको नेसनल फिल्म अवार्ड पाएकी छन् । वेश्यालय सञ्चालकको कथामा आधारित गंगुबाई काठियावाडी चलचित्रको मुख्य भूमिकाका लागि आलियालाई पुरस्कृत गरिएको हो ।
सिनेमामा उनको अभिनयले राम्रो चर्चा पाएको थियो । भारत सरकारद्वारा दिइने यो पुरस्कार भारतको चलचित्र उद्योगका लागि प्रतिष्ठित मानिन्छ । भारतको नयाँदिल्लीमा मंगलबार आयोजित नेसनल फिल्म अवार्डको ६९ औं समारोहमा विभिन्न ४६ विधामा अवार्ड वितरण गरिएको थियो । भारतकी राष्ट्रपति द्रोपदी मुर्मूले पुरस्कार दिएकी थिइन् । समारोहमा आलिया र मिमी चलचित्रकी अभिनेत्री कृति सनोनलाई संयुक्त रूपमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार दिइएको थियो ।









































