अध्यक्ष ओली भन्छन, शासक वर्गका कारण नेपाल विकसित हुन सकेन
काठमाडौं, 31 अक्टोबर 2023
काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् । अध्यक्ष ओलीले नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको बताए ।
उनले नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागि परेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए । विभिन्न कालमा शासन गर्नेहरूले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो ।
‘लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ । हामीलाई त्यस प्रकारका अवसरहरु लिनै दिइएन । राण शासन र त्यो भन्दा अगाडि हामीले अरु कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन । राणा गए, अब अरु शासनचाहिँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन । त्यसभन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरूको कारणले हो,’ उनले भने ।
अध्यक्ष ओलीले कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भएकाले यसको विकास हुन नसकेको बताए ।









































