श्रीमानको लागी न्याय माग्दा डर, त्रास र धम्की आए : भारती शेर्पा
काठमाडौं ,3 नोभेम्बर 2023
संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने योगराज ढकालको आममाफी बदर गरिदिएर सर्वोच्च अदालतले आफूलाई थप साहस दिएको भारती शेर्पाले बताएकी छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको उल्लेख गरिन् । आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागीकन सहयोग गरेकाले न्याय मिलेको उनले बताइन् ।
‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेका महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ’ उनले भनिन् ।
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पूर्वपत्नि भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।









































