मन्त्रिपरिषद्बाट राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत
काठमाडौं ,3 नोभेम्बर 2023
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने हुनुभएको छ ।
राष्ट्रपति फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो त्यसपछि सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न यही कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँ भ्रमण सकेर मङ्सिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम तय भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो बारे जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात् सङ्घीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मङ्सिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।’’
यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना–आयोजनाका लागि २६१ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।









































